You are currently viewing हीरक महोत्सवको तयारीमा शान्ति मावि, काठमाडौंमा अन्तर्क्रिया

हीरक महोत्सवको तयारीमा शान्ति मावि, काठमाडौंमा अन्तर्क्रिया

बुद्धजयन्तीको अवसरमा अर्घाखाँचीको मालारानी गाँउपालिका– ५ मा रहेको शान्ति माविले हीरक महोत्सव मनाउन तयारी थालेको छ। 

यसका तयारीका सिलसिलामा शनिबार काठमाडौंको महेन्द्ररत्न क्याम्पस, ताहाचलमा सरोकारवालाबीच अन्तर्क्रिया कार्यक्रम भएको छ।

कार्यक्रममा सहभागी सबैले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जयन्तीको अवसरमा हुन लागेको हीरक महोत्सवलाई ऐतिहासिक र भव्य बनाउनुपर्नेमा जोड दिए।प्रअ मानबहादुर पाण्डेका अनुसार महोत्सवका लागि करिब ४० लाख खर्च हुने अनुमान छ। 

अन्तर्क्रिया कार्यक्रममा माओवादी सचिव एवं पूर्वसांसद डिलाराम आचार्य, निवर्तमान राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, संघीय सांसद बिजुला रायमाझी र शिक्षाप्रेमी नरेन्द्रकुमार क्षेत्रीलगायतको मन्तव्य राखेका थिए। 

हीरक महोत्सव भव्य रूपमा सम्पन्न गर्न सबै आ–आफ्नो ठाउँबाट सहयोग गर्ने वक्ता र सहभागीको प्रतिबद्धता थियो। कार्यक्रममा पूर्वविद्यार्थीलगायत शिक्षासँग सरोकार राख्ने विभिन्न पेसा–व्यवसाय गर्ने व्यक्तिहरू सहभागी थिए । शान्ति मावि बुद्धजयन्ती अर्थात् ३ वैशाख ०१९ मा स्थापना भएको थियो।

सुरुमा प्रावि तह रहेको यस माविमा हाल उच्च माध्यमिक तहसम्मको पठनपाठन हुन्छ । यसबाहेक ०७६ देखि कम्प्युटर इन्जिनियरिङ कोर्स पनि सञ्चालनमा छ। विद्यालयमा विभिन्न नामका छात्रवृत्ति अक्षय कोष स्थापना गरिएका छन्।